जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको अधिवेशन असोज महिनामै हुने भएको छ । पार्टीको प्रथम मधेस प्रदेश अधिवेशन असोज महिनाको २७ र २८ गते जनकपुरधाममा हुने जनाइएको छ ।
पार्टीको प्रदेश कार्यकारिणी समितिको शुक्रबार जनकपुरधाममा मधेश प्रदेश अध्यक्ष वालकिशोर प्रसाद यादवको अध्यक्षतमा बसेको बैठकले प्रथम प्रदेश अधिवेशनको मिति घोषणा गरेको छ । अधिवेशन हुने भएपछि प्रदेशका ८ वटै जिल्लामा नेताहरु तयारीमा जुटेका छन् ।
निर्धारित मितिमै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवले जनाए ।
प्रदेश अधिवेशनको मिति सार्वजनिक भएपछि नेता कार्यकर्ताहरु उत्साहित भएका छन् । उनीहरु नेतृत्व छान्ने विषयमा आन्तरिक गृहकार्यमा जुटिसकेका छन् ।
अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव र पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव आकांक्षी छन् । उनीहरु २ जना बीच मुख्यरुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।
लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार नै अधिवशेन सम्पन्न गरिने बताइएको छ ।
यसअघि भाद्र ३१ र असोज १ गतेका लागि अधिवेशनको मिति सार्वजनिक गरिएको थियो । तर, जेनजीको आन्दोलनका कारण अधिवेशन स्थगीत गरिएको थियो ।
+ There are no comments
Add yours