सिरहा ५ चैत्र । मध्यपूर्वी देशहरूमा देखिएको युद्ध विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा असर परेपछि र नेपालमा नवनिर्वाचित प्रतिनिधि सभाले सरकार गठनमा भइरहेको ढिलाइ का कारण नेपालमा पनि खाना पकाउने ग्यास (एलपी ग्यास) अभावको चर्चा चुलिएको छ। तर, यस अवस्थालाई लिएर केही स्थानीयवासीले भने ग्यास अभाव भए पनि दैनिक जीवनमा ठूलो समस्या नपर्ने धारणा व्यक्त गरेका छन्।
स्थानीयका अनुसार विगतका दिनहरूमा ग्यासको प्रयोग नहुँदा पनि मानिसहरू परम्परागत स्रोत—दाउरा र गुइँठाको प्रयोग गरेर सहज रूपमा खाना पकाउने गर्थे। उनीहरू भन्छन्, “त्यो समयमा मानिसहरू शारीरिक रूपमा सक्रिय र स्वास्थ्य पनि राम्रो थियो, तर ग्यासको प्रयोग बढेसँगै पशुपालन र परिश्रम घट्दै गएको छ।”
उनीहरूले आधुनिक सुविधाले मानिसलाई अल्छी बनाएको र शारीरिक श्रम घट्दा विभिन्न रोगहरू बढ्दै गएको दाबी गरेका छन्। साथै, मोबाइल र टेलिभिजनमा बढी समय बिताउने बानीले सामाजिक तथा सामुदायिक स्तरमा विकृति बढिरहेको पनि उनीहरूको भनाइ छ।
केही स्थानीयवासीले “एक घर एक पशुपालन” र “एक व्यक्ति एक वृक्ष रोपण” अभियान सञ्चालन गर्न सके दाउरा र गुइँठा बाट खाना पकाउन सहज हुने र त्यसले वातावरण तथा स्वास्थ्य दुवैलाई फाइदा पुग्ने बताएका छन्। उनीहरूका अनुसार यसले ग्यासको विकल्प मात्र होइन, कृषि र खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्नेछ।
जानकारहरूले पनि नेपालमा खाना पकाउने ग्यासका विकल्पहरू पर्याप्त रहेको बताउँदै त्यसतर्फ खोज, अनुसन्धान र प्रयोग बढाउन सुझाव दिएका छन्। उनीहरू भन्छन्, “स्थानीय स्रोतको सदुपयोग गर्न सके ग्यास अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।”

+ There are no comments
Add yours