उपमेयर रामचलितर महतोसहित सिरहाका तीन जनप्रतिनिधि प्रभावित

Spread the love

लहान, । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, निर्णय र अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न तहका १८ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूको निर्वाचित पदसमेत रिक्त हुने अवस्था सिर्जना भएको छ।
पार्टीको निर्णयबाट प्रभावित हुनेमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश गोइत यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो रहेका छन्।
जसपा नेपालले पार्टीको नीति, सिद्धान्त, निर्णय तथा विधानविपरीत गतिविधि गरेको आरोपमा उनीहरूसहित विभिन्न जिल्लाका जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई कारबाही गर्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।
यस घटनाले सिरहाको स्थानीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। विशेषगरी लहान नगरपालिकाका उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिको पदमाथि कानुनी प्रश्न उठेको छ।
नेपालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दल त्याग र निर्वाचित पद रिक्त हुने विषयमा स्पष्ट व्यवस्था गरिएको छ।
१. दफा ३१ को उपदफा (१) : दल त्याग गर्न नपाउने व्यवस्था कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्यले पदावधि कायम रहेसम्म आफू निर्वाचित भएको दल त्याग गर्न नपाउने व्यवस्था छ। २. दफा ३१ को उपदफा (२) : पद स्वतः रिक्त हुने उपदफा (१) विपरीत कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिने व्यवस्था छ। ३. दफा ३२ को उपदफा (१) : दल त्याग गरेको मानिने अवस्था यस दफाअनुसार तीनवटा अवस्थामा दल त्याग गरेको मानिन्छ :
(क) सम्बन्धित दलको सदस्यताबाट लिखित रूपमा राजीनामा दिएमा। (ख) अर्को राजनीतिक दलको सदस्यता लिएमा।(ग) आफैँ वा आफू संलग्न भई अर्को राजनीतिक दल गठन गरेमा।४. राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ : निर्वाचन आयोगको प्रक्रिया नियम २२ को उपनियम (१) अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले ऐनको दफा ३२ (१) बमोजिम दल त्याग हुने कार्य गरेमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी त्यसको प्रतिलिपिसहित निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ।
उपनियम (२) अनुसार आयोगले जानकारी प्राप्त भएपछि १५ दिनभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ। उपनियम (३) अनुसार उक्त सूचना प्रकाशित भएपछि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको पद स्वतः रिक्त भएको मानिन्छ। लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, सखुवानन्कारकट्टी–४ का वडाध्यक्ष रमेश गोइत यादव र धनगढीमाई–७ का वडाध्यक्ष विजयकुमार महतोको नाम यो घटनासँग जोडिएपछि जिल्लाको स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ।विशेषगरी लहान नगरपालिकामा उपप्रमुखको पद रिक्त हुने अवस्था आएमा नगरपालिकाको कार्यसम्पादन र आगामी राजनीतिक समीकरणमा समेत यसको प्रभाव पर्न सक्ने देखिन्छ।
यद्यपि, पार्टीबाट निष्कासन गर्ने निर्णय र कानुनअनुसार दल त्याग गरेको ठहर भई पद रिक्त हुने प्रक्रिया एउटै विषय होइनन्। दफा ३२ मा उल्लेखित दल त्यागका आधार तथा नियम २२ को प्रक्रिया पूरा भएको हुनुपर्ने कानुनी पक्ष महत्त्वपूर्ण छ।त्यसैले निर्वाचन आयोगले सम्बन्धित दलको निर्णय, प्राप्त कागजात र कानुनी प्रक्रिया अध्ययन गरी औपचारिक सूचना प्रकाशित गरेपछि मात्रै स्थानीय तहका पद रिक्त भएको निष्कर्षमा पुग्न सकिन्छ। स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने विषयमा विगतदेखि नै संवैधानिक र कानुनी बहस हुँदै आएको छ।
नेपालको संविधानको धारा २१६ को उपधारा (८) मा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको पद राजीनामा, पदावधि समाप्ति वा मृत्यु भएमा रिक्त हुने व्यवस्था छ।तर राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ ले दल त्याग गरेमा पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ। यही कारण संविधान र ऐनबीचको सामञ्जस्यबारे कानुनविद्हरूले प्रश्न उठाउँदै आएका छन्।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours