जनकपुरधाममा आयोजित कार्यक्रममा शिक्षालाई समुदायको उत्थानको मुख्य आधार भन्दै सामाजिक न्याय र राजनीतिक सशक्तीकरणमा जोड
जनकपुरधाम, श्रावण १०। नेपाल राष्ट्रिय मुसहर संघ, धनुषाको आयोजनामा एसईई, +२, स्नातक, स्नातकोत्तर तथा प्राविधिक शिक्षातर्फ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा उच्च शिक्षा अध्ययनका लागि सहयोग घोषणा कार्यक्रम जनकपुरधामस्थित सबरी कुट्टीमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय मुसहर संघ, धनुषाका जिल्ला अध्यक्ष राजकुमार सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लेखक आहुति, विशिष्ट अतिथि चन्देश्वर सदा, समाजवादी दलित मुक्ति संगठनका इन्चार्ज चन्देश्वर पासमान, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव लगायतले शिक्षा नै समाज विकास र परिवर्तनको पहिलो आधार भएको उल्लेख गर्दै दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न राज्य, समाज र सरोकारवाला सबै पक्षले प्राथमिकता दिनुपर्ने बताएका छन्।
वक्ताहरूले सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक तथा सामाजिक संघर्षलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै समाजको सबैभन्दा पिँधमा रहेका मुसहर समुदायको समग्र विकास नभएसम्म समावेशी समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गरे। उनीहरूले उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा मधेश प्रदेशसहित देशभरका मुसहर समुदायका अगुवा नेता, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना नेपाल राष्ट्रिय मुसहर संघ धनुषा जिल्ला जनकपुरधामले गरेको थियो भने सक्षम महिला केन्द्र, दिनाभद्री बास्केट फण्ड नेपाल, अन्तर्राष्ट्रिय सबरी संकल्प समाज र भार संस्थाले सहयोग गरेका थिए।
पचु माझीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने कविता ऋषि देवले शुभकामना प्रस्तुत गरेका थिए कार्यक्रमको सञ्चालन सुलिन्द्र सदाले गरेका थिए।। कार्यक्रममा विद्यार्थी, अभिभावक, समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




+ There are no comments
Add yours