धारापानी, १५ फागुन । धनुषाको धारापानीमा रहेका बुद्ध पाठशाला धारापानीले वार्षिक खेलकुद प्रतियोगीताका विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड प्रदान गरेको छ ।
बिहीबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी ‘एनुअल स्पोर्ट मिट–२०८१’ का विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले कबड्डी, खोखो, भलिबल, क्रिकेट, रनिङ, हाइजम्प र लङ्जम्प खेल प्रतियोगीतामा समूहगत रुपमा सहभागीता जनाएका थिए । कबड्डी, खोखो, भलिबल खेलमा छात्र र छात्राहरु सहभागी थिए । क्रिकेट खेलमा छात्रहरु मात्र सहभागी थिए ।
यी ४ खेलमा छात्रहरु ४ जना र ३ खेलमा छात्राहरु ३ जना गरी जम्मा ७ जना खेलाडीहरुलाई बेस्टप्लेयर अवार्ड प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रामपुकार यादवले जनाए । अन्य समूहगत ७ वटै खेलमा सहभागी खेलाडीहरुलाई मेडल प्रदान गरिएको छ ।
बेस्टप्लेयर अवार्ड ब्वाइजतर्फ कबड्डीमा बिक्की यादव, खोखोमा मनिष यादव, भलिबलमा करण यादव, क्रिकेटमा कमलेश यादवलाई प्रदान गरिएको छ । त्यस्तै, गर्लस्तर्फ कबड्डीमा सुजीता यादव, खोखोमा अञ्जली यादव र भलिबलमा बर्षा मिजारलाई बेस्टप्लेयर अवार्ड प्रदान गरिएको खेल समिति संयोजक दीपेश सिंहले बताए ।
विद्यालयमा रहेका ४ समूहबीच भएको समूहगत खेलमा ब्वाइजतर्फ कबड्डीमा शिव यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र मनिष यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान प्राप्त गरे । खोखोमा कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस प्रथम र धिरज यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान ल्याए । भलिबलमा करण यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस दोस्रो स्थान ल्याए । क्रिकेटमा कमलेश यादव क्याप्टेन रहेका ब्लुहाउस प्रथम र करण यादव क्याप्टेन रहेका ग्रीन हाउस दोस्रो स्थान ल्याए ।
त्यस्तै गर्लस्तर्फ कबड्डीमा सुजीता यादव क्याप्टेन रहेका एल्लो हाउस प्रथम र वर्षा मिजार क्याप्टेन रहेका ग्रीन हाउस दोस्रो स्थान ल्याए । खोखोमा अञ्जली यादव क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र सुजीता यादव क्याप्टेन रहेका एल्लो हाउस दोस्रो स्थान ल्याए । भलिबलमा बर्षा मिजार क्याप्टेन रहेका ग्रीन हाउस प्रथम र किरती यादव क्याप्टेन रहेका ब्लुहाउस दोस्रो स्थान ल्याए । गर्लस्हरु क्रिकेट खेलमा सहभागीता जनाएका थिएनन् ।
समूहगत खेलमा सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्रसहित मेडल प्रदान गरिएको ‘एनुअल स्पोर्ट मिट–२०८१’ का खेल समिति सदस्य राजु यादवले जनाए ।
विद्यालयका शिक्षक शिक्षिकाहरुको उत्साहपूर्वक सहभागीतामा बुद्ध पाठशाला धारापानीले पहिलोपल्ट एनुअल स्पोर्ट मिट–२०८१ आयोजना गर्न सफल भएको खेल समिति सदस्य मन्नी साहले बताए । शिक्षक साह खेलअवधिभर अंक निर्धारण र प्रमाणपत्र डिजाइनरको रुपमा काम गरे ।
बेस्टप्लेयर अवार्ड प्राप्त गरेका विद्यार्थी खेलाडीहरु आगामी दिनमा पनि यसरी नै विद्यालयले विभिन्न प्रतियोगीताहरु आयोजना गरी खेलकुदका क्षेत्रमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
फागुन १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको स्पोर्ट मिटअन्तर्गत ७ खेलमा प्रतियोगीता गराइएको थियो । सबै खेल विद्यालयअन्तर्गत रहेका ४ समूहका ब्वाइज र गर्लस्बीच छुट्टा–छुट्टै खेलाइएको थियो ।
एनुअल स्पोर्ट मिट–२०८१ मा खेलाडी, विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।
जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ मा स्थापित श्री बुद्ध पाठशाला धारापानी गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्था हो । शिक्षाको क्षेत्रमा कसैसँग सम्झौता नगर्ने तथा अनुशासित र गुणस्तरीय विद्यार्थी उत्पादनलाई यस संस्थाको प्रमुख उद्देश्य रहेको छ ।
+ There are no comments
Add yours