मिर्चैयाको कटारी चोकमा पार्किङको आतंक, व्यापारी हैरान

Spread the love

ट्राफिक प्रहरीको निष्क्रियतामाथि प्रश्न, पार्किङ व्यवस्थापन र दोषीमाथि कारबाहीको माग

मिर्चैया, असोज २९ गते। सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा जथाभावी सवारी पार्किङ र फोहोर व्यवस्थापनको समस्याले व्यापारी तथा स्थानीयवासी हैरान भएका छन्। जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक कटारी चोकमा पिकअप भ्यान, अटो तथा सिटी सफारी चालकले साँघुरो सडक र पार्किङ निषेधित क्षेत्रमा समेत सवारीसाधन राख्दा आवागमन प्रभावित भएको स्थानीयको गुनासो छ।

स्थानीय व्यापारीहरूका अनुसार ट्राफिक प्रहरीको न्यून उपस्थितिका कारण चालकहरूले मनपरी पार्किङ गर्ने गरेका छन्। सवारी हटाउन आग्रह गर्दा केही चालकले मुख छोड्ने, मारपिट गर्न आउने र अटेर गर्ने गरेको उनीहरूको आरोप छ। सडक ढाकेर सवारीसाधन राख्दा पैदलयात्री, अन्य सवारीसाधन र बजारमा आउने ग्राहकलाई आवतजावत गर्न कठिनाइ भएको छ। पसलसम्म ग्राहक पुग्न नसक्दा व्यापार व्यवसायसमेत प्रभावित भएको व्यापारीहरूको दुःखेसो छ।

कटारी चोकमा फोहोरको उचित व्यवस्थापन नहुँदा समस्या थपिएको स्थानीयको भनाइ छ। यस विषयमा पटक–पटक सम्बन्धित निकाय र ट्राफिक प्रहरीलाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको उनीहरूको गुनासो छ। मुख्य चोकमै भइरहेको अव्यवस्थित पार्किङ ट्राफिक प्रहरी मौन बसेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीय तथा व्यापारीहरूले अव्यवस्थित पार्किङ तत्काल नियन्त्रण गर्न, व्यवस्थित पार्किङ स्थल निर्धारण गर्न, फोहोर व्यवस्थापन गर्न र नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न प्रशासन, ट्राफिक प्रहरी, वडा कार्यालय तथा नगरपालिकासँग माग गरेका छन्।

समयमै समस्या समाधान नगरिए बजारको यातायात र व्यापार व्यवस्थापन थप अस्तव्यस्त बन्नुका साथै दुर्घटना तथा मानवीय क्षतिको जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours