पर्सा। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२, बैरिया बिर्तास्थित श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय परिसरमा उच्च भोल्टेजको विद्युत् ट्रान्सफर्मर जडान गरिएपछि विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाको दैनिक आवतजावत हुने स्थानको अत्यन्त नजिक ट्रान्सफर्मर जडान गरिएको भन्दै स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाले त्यसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयका अनुसार विद्यालयजस्तो संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना नगरी ट्रान्सफर्मर जडान गर्नु बालबालिकाको जीवनलाई जोखिममा पार्ने कार्य हो। उनीहरूले सम्भावित दुर्घटनालाई रोक्न ट्रान्सफर्मर यथाशीघ्र सुरक्षित स्थानमा सार्न तथा आवश्यक सुरक्षा घेराबार, चेतावनी संकेत र अन्य सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन्।
स्थानीयवासीले विद्यार्थी राष्ट्रको भविष्य भएकाले उनीहरूको सुरक्षामा कुनै सम्झौता गर्न नहुने बताएका छन्। यस्तो गैरजिम्मेवार कार्यमा संलग्न व्यक्ति वा निकायमाथि आवश्यक छानबिन गरी कानुनी कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्।
बालबालिकाको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै स्थानीयले सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

+ There are no comments
Add yours