गोलबजार–देवानगञ्ज घटनामा जसपा नेपालको प्रेस विज्ञप्ति

Spread the love

देवानगञ्ज र गोलबजार घटनाप्रति जसपा नेपालको दुःख व्यक्त, निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न आग्रह

काठमाडौं, साउन १४ — जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका ओमप्रकाश मेहता तथा सिरहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता मनिष कुमार सुमनद्वारा जारी प्रेस विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

जसपा नेपालले मृतकका परिवारलाई न्यायोचित राहत उपलब्ध गराउन, घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न तथा दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने, अशान्ति र हिंसात्मक गतिविधि फैलाउने प्रवृत्तिप्रति सचेत रहन सबै पक्षलाई आग्रह गरिएको छ। धर्मको नाममा समाजमा वैमनस्यता फैलाउने र समुदायबीच विभाजन सिर्जना गर्ने प्रयासलाई असफल बनाउन शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई अपिल गरिएको छ।

साथै, पछिल्लो घटनाक्रमले सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै सरकारले आवश्यक संवेदनशीलता, तत्परता र प्रभावकारी पहलमार्फत शान्ति तथा सामाजिक सद्भाव कायम गर्न ठोस कदम चाल्नुपर्नेमा जसपा नेपालले जोड दिएको छ।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours