मिर्चैयामा अटो–सिटी सफारीको मनपरी, व्यापार प्रभावित

Spread the love

कटारी चोकमा अव्यवस्थित पार्किङले यात्रु र व्यापारीलाई सास्ती, नियमन गर्न स्थानीयको माग

मिर्चैया, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा अटो तथा सिटी सफारीको अव्यवस्थित पार्किङ र सञ्चालनका कारण स्थानीय बासिन्दा तथा व्यापारीहरू समस्यामा परेका छन्। साँघुरो सडकमा जथाभावी सवारीसाधन रोक्ने प्रवृत्तिले बजार क्षेत्रमा आवागमन प्रभावित हुनुका साथै व्यापार व्यवसायसमेत घट्दै गएको स्थानीय व्यापारीहरूको गुनासो छ।

स्थानीय व्यापारीहरूका अनुसार पार्किङ निषेधित क्षेत्रमा समेत अटो तथा सिटी सफारी रोक्ने गरिएको छ। यसले पैदलयात्री, अन्य सवारीसाधन र बजारमा किनमेल गर्न आउने ग्राहकलाई सास्ती भएको उनीहरूको भनाइ छ। केही चालकले यात्रु तथा ग्राहकलाई तानातान गर्ने गरेको आरोपसमेत व्यापारीहरूले लगाएका छन्।

यसबाट होटल तथा लज व्यवसायसमेत प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। बाहिरबाट आएका यात्रु सहज रूपमा बजारमा बस्न तथा आवतजावत गर्न नसक्दा स्थानीय व्यवसायमा नकारात्मक असर परेको उनीहरू बताउँछन्। दसैँजस्ता ठूला चाडपर्वमा समेत अपेक्षाअनुसार व्यापार हुन नसकेको भन्दै व्यापारीहरूले आगामी दीपावली तथा छठ पर्वलाई ध्यानमा राखेर बजार व्यवस्थापन गर्न माग गरेका छन्।

व्यवसायीहरूले बजार क्षेत्रमा अटो तथा सिटी सफारीको रुट र सञ्चालन समय निर्धारण गर्नुपर्ने बताएका छन्। उनीहरूको सुझावअनुसार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बजारबाट बाहिर जाने सवारीसाधनको सञ्चालनलाई व्यवस्थित गर्न सके बजार व्यवस्थापनमा सहजता आउनेछ।

ट्राफिक कार्यालय लहान, सिरहाबाट प्राप्त जानकारीअनुसार सिटी सफारीको सञ्चालन तथा व्यवस्थापन सम्बन्धित नगरपालिकाले गर्ने व्यवस्था रहेको छ। त्यस्तै, अटोको सञ्चालन क्षेत्र करिब २० किलोमिटर रहेको कार्यालयको भनाइ छ।

तर मिर्चैयाबाट उदयपुरको कटारी करिब २६ किलोमिटर र सिन्धुलीको दुधौली करिब ३० किलोमिटर दूरीमा पर्ने भएकाले अटोको सञ्चालन क्षेत्रसम्बन्धी नियम कार्यान्वयनबारे स्थानीयले प्रश्न उठाएका छन्। मिर्चैया मधेश प्रदेशमा, कटारी कोशी प्रदेशमा र दुधौली बागमती प्रदेशमा पर्ने भएकाले अन्तरजिल्ला तथा अन्तरप्रदेशमा सञ्चालन हुने अटोको रुट र नियमनबारे स्पष्टता आवश्यक रहेको उनीहरूको भनाइ छ।

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोक क्षेत्रमा केही अटो चालक आवश्यक लाइसेन्स तथा कागजातबिना सञ्चालनमा रहेको स्थानीयको गुनासो छ । नियमविपरीत सञ्चालन हुने सवारीमाथि प्रभावकारी नियन्त्रण हुन नसक्दा स्थानीय प्रहरी तथा ट्राफिक प्रहरीको कार्यसम्पादनप्रति समेत प्रश्न उठेको छ । यद्यपि, यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।

पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको आरोप

स्थानीय व्यापारी तथा बासिन्दाले अव्यवस्थित पार्किङ र अटो तथा सिटी सफारीको सञ्चालनबारे सम्बन्धित निकाय तथा ट्राफिक प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएको गुनासो गरेका छन्।

मुख्य चोकमै अव्यवस्थित पार्किङ नियन्त्रण हुन नसक्दा समस्या बढ्दै गएको उनीहरूको आरोप छ। व्यापारीहरूले जथाभावी पार्किङ रोक्न, नियमविपरीत सञ्चालन हुने सवारीसाधनमाथि कारबाही गर्न तथा बजार क्षेत्रमा प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न माग गरेका छन्।

कटारी चोकको सडक व्यवस्थापन, अटो तथा सिटी सफारीको रुट र समय निर्धारण, फुटपाथ खाली गराउने तथा आन्तरिक र बाह्य क्षेत्रबाट आउने ग्राहक एवं यात्रुलाई सहज आवागमनको वातावरण बनाउने उनीहरूको मुख्य माग छ।

स्थानीय व्यापारीहरूका अनुसार सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले मिर्चैयाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको कटारी चोकको व्यापार व्यवसाय थप प्रभावित हुन सक्छ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours