काठमाडौं । अग्रगामी मोर्चामा आबद्ध विभिन्न राजनीतिक दलहरूले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा साझा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने तयारी तीव्र बनाएका छन्।
मोर्चामा आबद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० तथा संघीय समाजवादीसहितका राजनीतिक दलहरू एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने गरी तयारीमा जुटेका हुन्।
यसका लागि विभिन्न दलका शीर्ष नेताहरूबीच छलफल तथा निर्वाचन आयोगसँग कानुनी परामर्श अघि बढाइएको स्रोतले जनाएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालगायत शीर्ष नेताहरूले निर्वाचन आयोगसँग परामर्श गरेको बताइएको छ।
आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गरेर प्रतिस्पर्धा गर्ने सम्भावना, त्यसका लागि आवश्यक कानुनी व्यवस्था र निर्वाचन प्रक्रियाका विषयमा आयोगसँग परामर्शलाई तीव्रता दिइएको स्रोतको दाबी छ।
राजनीतिक विश्लेषक भुवनेश्वर चौधरीका अनुसार अग्रगामी मोर्चाले पहिचान, संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता तथा प्राप्त अधिकारको संरक्षण र बाँकी अधिकारका सवाललाई साझा राजनीतिक एजेन्डाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।
उनले यी मुद्दालाई प्रभावकारी रूपमा स्थापित गर्न मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्ने विश्लेषण गरेका छन्। उनका अनुसार साझा चुनाव चिह्न र साझा राजनीतिक एजेन्डाले विभिन्न राजनीतिक शक्तिबीचको सहकार्यलाई थप बलियो बनाउन सक्छ।
साझा चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुने तयारीले अग्रगामी मोर्चाको चुनावी रणनीतिलाई नयाँ दिशा दिने देखिएको छ। तथापी, यस विषयमा औपचारिक सहमति, कानुनी प्रक्रिया तथा निर्वाचन आयोगको आधिकारिक निर्णय भने सार्वजनिक हुन बाँकी छ।

+ There are no comments
Add yours