काठमाडौं, साउन १५ – दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति तथा अल्पसंख्यकहरूको परिसंघ (डोटिम) ले पछिल्ला दिनहरूमा सुनसरीबाट सुरु भई मधेशका विभिन्न जिल्लामा फैलिएका साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा हिंसात्मक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, धार्मिक स्वतन्त्रता, समानता, समावेशिता र मानव अधिकारको संरक्षण सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि विवादको समाधान हिंसाबाट नभई संवाद, सहिष्णुता र पारस्परिक सम्मानबाट खोजिनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा साम्प्रदायिक हिंसा र द्वन्द्वले दलित, पिछडावर्ग, आदिवासी, जनजाति, थारु तथा अल्पसंख्यक समुदायको अधिकार आन्दोलन कमजोर पार्ने भएकाले अफवाह र भड्काउ गतिविधिबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न सबै उत्पीडित समुदायलाई आग्रह गरिएको छ।
डोटिमले सरकारसँग सामाजिक सद्भाव बिथोल्ने, अफवाह फैलाउने र हिंसा भड्काउने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न डोटिम संयोजक चन्देश्वर पासमान हस्ताक्षरित अपिलमा माग गरेको छ।


+ There are no comments
Add yours