रङ्ग होइन, एजेण्डाले राजनीति मापन गरौं

Spread the love

विचार

नेपालको राजनीति फेरि एकपटक नयाँ ध्रुवीकरणको मोडमा पुगेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्राप्त उपलब्धिको रक्षा, पहिचान, समावेशिता र सामाजिक न्यायका मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन बाँकी रहेको महसुस विभिन्न राजनीतिक शक्तिहरूले गरिरहेका छन् । यही सन्दर्भमा जनआन्दोलन, जनयुद्ध तथा मधेश आन्दोलनबाट आएका केही शक्तिहरू पार्टी एकिकरण नगरी २०८३ श्रावण २३ गते शनिवार नयाँ राजनीतिक मोर्चा (अग्रगामी मोर्चा) निर्माणको तयारीमा छन्।


तर, मोर्चाको एजेन्डाभन्दा पनि त्यसमा सहभागी नेताहरूको अनुहार, पृष्ठभूमि वा समुदायका आधारमा टिप्पणी गर्ने प्रवृति सामाजिक सञ्जाल र राजनीतिक वृतमा देखिन थालेको छ । एउटै प्रकृतिको राजनीतिक एकता एक समूहले गर्दा त्यसलाई राष्ट्रिय हितको रूपमा चित्रण गर्ने, तर अर्को समूहले गर्दा त्यसलाई संकीर्ण स्वार्थ वा विभाजनकारी प्रयासको रूपमा व्याख्या गर्ने प्रवृतिले नेपाली समाजमा रहेको पूर्वाग्रहलाई उजागर गर्दैछ ।

राजनीतिक मोर्चा कसले बनायो भन्ने भन्दा पनि किन बनायो ? त्यसको उद्देश्य के हो ? र त्यसले लोकतन्त्र, संविधान तथा नागरिकका अधिकारलाई कसरी सम्बोधन गर्छ ? भन्ने आधारमा मूल्यांकन हुनु लोकतान्त्रिक संस्कृतिको मूल आधार हो ।
आज मुलुक महँगी, बेरोजगारी, युवाहरु विदेश पलायन र राजनीतिक अस्थिरताजस्ता चुनौतीसँग जुधिरहेको छ । यस्तो अवस्थामा वैकल्पिक राजनीतिक ध्रुव वा नयाँ मोर्चा बन्नु लोकतान्त्रिक प्रक्रियाकै हिस्सा हो । कुनै पनि मोर्चाको सफलता वा असफलता उसले वोकेको एजेन्डा, व्यवहार र जनविश्वासले निर्धारण गर्छ, सहभागीहरूको जात, समुदाय वा रङ्गले होइन।
लोकतन्त्रमा विचारसँग विचारको प्रतिस्पर्धा हुनुपर्छ, पूर्वाग्रहसँग होइन । नयाँ राजनीतिक मोर्चालाई समर्थन वा विरोध गर्ने अधिकार सबैलाई छ, तर त्यो बहस तथ्य, नीति र एजेन्डामा आधारित हुन सके मात्र लोकतान्त्रिक संस्कृतिलाई बल पुग्छ । अन्ततः नेपालको राजनीतिले व्यक्ति वा पहिचानभन्दा माथि उठेर साझा राष्ट्रिय हित, समावेशी लोकतन्त्र र सामाजिक न्यायको दिशामा अघि बढ्न सक्नुपर्छ।

लेखक: अभरेन्द्र कुमार यादव
पद : अध्यक्ष, प्रेस मञ्च नेपाल, मधेश प्रदेश

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours