सिरहा, पिके कर्ण । सुखीपुर नगरपालिकामा विगत ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको ढिलाइप्रति जनता समाजवादी पार्टी (जसपा) नेपाल सुखीपुर नगर समिति नगरपालिकाको ध्यानाकर्षण सहित प्रतिवद्धता आएको छ।
जसपा नगर समिति अध्यक्ष इन्जिनियर जिबछ यादवको नेतृत्वमा नगर समितिले असोज ७ गते नगर प्रमुख रामऔतार यादवलाई ज्ञापनपत्र बुझाउँदै सामाजिक सुरक्षा भत्ता नियमित र समयमै वितरण गर्न माग गरेको थियो।
ज्ञापनपत्रमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गले भत्ता नपाउँदा समस्या भएको भन्दै भत्ता वितरणको निश्चित मिति र प्रक्रिया सार्वजनिक गर्न माग गरिएको थियो।
ज्ञापनपत्रको मागबारे छलफल गर्दै नगरपालिका प्रमुख रामऔतार यादवले दशैंअघि नै समस्या समाधान गरी माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको जसपा, नेपाल नगर समितिले जनाएको छ।
जसपा युवा नेता सुरेन्द्र यादवले लक्षित वर्गले आफ्नो हकको सामाजिक सुरक्षा भत्ता समयमै र सहज रूपमा पाउनुपर्ने बताए। उनले भत्ता वितरणको मिति र प्रक्रियाबारे लाभग्राहीलाई समयमै सूचना दिनुपर्नेमा जोड दिए।
जसपा नगर समितिले नगर प्रमुखको प्रतिबद्धता कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ।

+ There are no comments
Add yours