‘हामी कति एक्ला रहेछौँ’ रसुवा बाढीमा बेपत्ता मधेश प्रदेश १६९ जनाका परिवारको चित्कार
संचारकर्मी श्याम शुन्दर यादवको फेसवुक वाल वाट साभार
जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको एक महिना १० दिन बितिसक्दा पनि मधेशका १६९ जना बेपत्ता छन्। रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका उनीहरू सम्पर्कविहीन भएपछि परिवारजन अझै फर्किने आशामा बाटो कुरिरहेका छन्।
पर्साका ४१, बाराका २२, रौतहटका २२, सर्लाहीका २०, महोत्तरीका ९, धनुषाका ७, सिरहाका १० र सप्तरीका ४८ जना गरी १६९ जना बेपत्ता रहेको संचारकर्मी श्याम शुन्दर यादवको फेसवुक वालमा लेखिएको छ ।
समय बित्दै जाँदा आफन्तजनको आशा कमजोर हुँदै गएको छ। कतै आफ्ना मान्छे जीवितै भेटिने आशा, कतै शव फेला पर्ने प्रतीक्षा—पीडित परिवारका लागि हरेक दिन पीडादायी बन्दै गएको छ।
डीएनए परीक्षणका लागि रगतको नमुना दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि परिणाम नआएको परिवारजनको गुनासो छ। खोजी तथा पहिचानमा राज्यले पर्याप्त चासो नदिएको भन्दै उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
संघीय सरकार देखि स्थानीय तहसम्मका सरकार र राजनीतिक नेतृत्वले पीडित परिवारको अवस्था बुझ्न प्रभावकारी पहल नगरेको आरोपसमेत लागेको छ। विपत्तिमा साथ पाउने अपेक्षा गरेका मधेसका परिवार अहिले आफूहरू राज्यबाटै उपेक्षित भएको महसुस गर्न थालेका छन्।
बेपत्ता परिवारको मार्मिक पुकार छ— ‘कि त सास देऊ, कि त लास देऊ, वा केही त जवाफ देऊ सरकार !’

+ There are no comments
Add yours