सुत्केरीको थालमा भात, नुन र खुर्सानी मात्रै : महिला मानव अधिकारकको प्रश्न– महिला हिंसा यही होइन ?

Spread the love

कर्जन्हाका ११ वटै वडामा काम गर्दा देखिएका महिलाका पीडा सार्वजनिक गर्दै महिला मानव अधिकारकर्मी पासमानले मातृपोषण, मदिराको लत र गरिब दलित महिलाको अवस्थामाथि सरकारसंग प्रश्न उठाइन्।
कर्जन्हा, सिरहा । महिला हिंसा भन्नाले शारीरिक यातना मात्रै बुझ्ने समाजले महिलाको भोक, पोषण अभाव, आर्थिक परनिर्भरता र सामाजिक अपमानलाई पनि हिंसाका सवालका रूपमा बुझ्नुपर्ने आवाज कर्जन्हाबाट उठेको छ।


महिला मानव अधिकारक कर्जन्हा नगरपालीका अध्यक्ष ममता पासमानले अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा नगरपालिकाका ११ वटै वडामा काम गर्ने क्रममा देखेका महिलाका पीडा सार्वजनिक गर्दै समाज र स्थानीय व्यवस्थामाथि प्रश्न उठाएकी छन्।
महिला मानव अधिकार तथा बालबालिकाको पोषण आहारको क्षेत्रमा काम गर्ने क्रममा आफूले देखेको एउटा दृश्यले आजसम्म सताइरहेको उल्लेख गर्दै उनले दुई दिनकी सुत्केरी आमाको थालमा भात, नुन र खुर्सानी मात्रै रहेको पीडादायी अवस्थालाई सार्वजनिक गरेकी छन्।
बच्चालाई दूध खुवाउनुपर्ने, शरीर कमजोर हुने र आराम तथा पौष्टिक आहारको आवश्यकता पर्ने संवेदनशील अवस्थामा एउटी आमाले पर्याप्त खाना नपाउनु गरिबीको समस्या मात्रै नभई सामाजिक तथा व्यवस्थागत असफलताको प्रतिबिम्ब भएको उनको प्रश्न छ।
अर्कोतर्फ, घरमा श्रीमती वा सुत्केरी आमाका लागि राम्रो खानेकुरा जुटाउन नसक्ने अवस्था रहे पनि मदिरा सेवनका लागि पैसा जुट्ने सामाजिक विडम्बनाप्रति उनले चिन्ता व्यक्त गरेकी छन् । मदिराको लतले परिवारलाई प्रभावित बनाइरहेको अवस्थामा त्यसबाट परिवारलाई जोगाउने प्रभावकारी नीति, कार्यक्रम र सचेतना अभियान कहाँ छन् भन्ने प्रश्न पनि उनले उठाएकी छन्।
हरेक सुत्केरीको थालमा पौष्टिक आहार सुनिश्चित गर्ने योजना किन बन्न सक्दैन ? मदिराको लतबाट प्रभावित परिवारलाई संरक्षण गर्ने कार्यक्रम कहिले आउँछ ? गरिब तथा दलित महिलाले यस्ता पीडाबाट कहिले मुक्ति पाउँछन् ? पासमानका प्रश्नले स्थानीय तहमा महिला अधिकार, मातृस्वास्थ्य र सामाजिक न्यायको बहसलाई पुनः सतहमा ल्याएको छ।
यस्ता सवाललाई गम्भीरतापूर्वक सम्बोधन गर्ने संवेदनशील नेतृत्व हुनुपर्ने आशा व्यक्त गर्दै उनले आमा र बच्चा स्वस्थ भए मात्रै समाज स्वस्थ हुने सन्देश दिएकी छन्।
महिला हिंसा अन्त्यको नारासँगै महिलाको खानपान, स्वास्थ्य, सम्मान, आर्थिक अवस्था र सुरक्षित जीवन सुनिश्चित गर्ने जिम्मेवारी राज्य तथा समाजले लिनुपर्ने उनको अभिव्यक्तिले स्थानीय सरकारको नीति र प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours