अर्चना यादव
जनकपुरधाम, १ फागुन । मधेस प्रदेश सरकारको स्वायत्त संस्था चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यकारी अध्यक्षमा बरिष्ठ सदस्य अशोक दत्त नियुक्त हुनु भएको छ । अध्यक्षको कार्यकाल समाप्त भएपछि दत्तलाई नियुक्त गरिएको हो ।
दत्त जनकपुरधामलाई कार्यक्षेत्र बनाएर भाषा, कला र साहित्य तथा गीतसंगीत र आमसञ्चारको क्षेत्रमा कलम चलाउँदै आएका छन् । लोकसञ्चारको विषयमा कुशल अध्येतासमेत रहेका उनलाई मधेस सरकारले चलचित्र र लोकसञ्चारको विषयमा काम गर्ने जिम्मेवारी ढिलाई गरेको जानकारहरु बताउँछन् ।
मधेस प्रदेशमा चलचित्र तथा भाषा, कला र साहित्यको विकास तथा उत्थानका लागि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारको कानूनमन्त्री ज्ञानेन्द्र यादवले करिब ४ वर्ष अघि दत्तलाई बोर्डको सदस्य नियुक्त गरेका थिए ।
मन्त्री यादवले मधेस प्रदेशलाई सुविधासम्पन्न प्रदेश बनाउने उद्देश्यले सो बेला बोर्डसँगै आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल स्वायत्त संस्था स्थापना गरेका थिए । सबै संस्थाहरुमा प्रदेशस्तरीय मन्त्रीपरिषद्को निर्णय अनुसार अध्यक्ष लगायत सदस्यहरु नियुक्त गरे ।
बोर्डका अध्यक्षमा सिरहाका धर्मेन्द्र मोरबैता यादव, प्राधिकरणमा सप्तरीका श्यामसुन्दर यादव र काउन्सिलमा सप्तरीका शिवहरी प्रसाद भट्टराई थिए । २०७९ मंसिर १७ मा भट्टराईका निधन भएपछि काउन्सिलको कार्यबाहक अध्यक्षको रुपमा बरिष्ठ सदस्य कैलाश दासले कार्यभार सम्हाले । दास अहिले पनि काउन्सिलमा कार्यबाहक अध्यक्षको रुपमा काम गरिरहेका छन् ।
त्यस्तै, माघ २९ गते मोरबैताको कार्यकाल समाप्त भएपछि फागुन १ गते बरिष्ठ सदस्य अशोक दत्तले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाले । यद्यपि, ३ वटै संस्थाका सदस्यहरुको कार्यकाल भने आउँदो चैतमा समाप्त हुँदैछ ।
प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव पनि माघ २९ गते अध्यक्षको जिम्मेवारीबाट मुक्त भैसकेका छन् । अहिलेसम्म प्राधिकरणमा कार्यकारी अध्यक्ष कसैलाई तोकिएको छैन ।
+ There are no comments
Add yours