जनकपुरधाम, ६ चैत । मधेसका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका कारण महोत्तरी मरुभूमि बन्ने सांसद सरोजसिंह कुशवाहाले बताएका छन् ।
बुधबार प्रदेश सभामा बोल्दै सांसद कुशवाहाले मन्त्री यादवले न त संविधानलाई बुझेको छ न त कानूनलाई नै । आफू मन्त्री हुँ भन्नेले संविधान र कानूनलाई मान्नु पर्ने तर्क गरे ।
प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई अनुरोध गर्दै सांसद कुशवाहाले भने, ‘दिमागी हालत ठीक नभएको मन्त्रीलाई सरकारी कोषबाट इलाज गराउनुस् ।’ संविधान बुझ्दैन, कानून मान्दैन । के यसरी नै प्रदेश चल्छ त ?
बुधबार महोत्तरीको ‘टिकुलिया–सहसौला’ सडक स्तरोन्नति योजनाको शिल्यानाश गर्न पुगेका मन्त्री यादवलाई टिकुलिया चोकबाट माओवादी कार्यकर्ता लखेटेका छन् । ‘टिकुलिया–सहसौला’ क्षेत्र सांसद कुशवाहाको निर्वाचन क्षेत्र हो । कुशवाहा महोत्तरी ४ को ‘ख’ र यादव ४ को ‘क’ बाट निर्वाचित भएका छन् ।
मन्त्री यादवलाई महोत्तरीको टिकुलियाबाट माओवादी कार्यकर्ताहरुले लखेटेको विषयमा बोल्दै कुशवाहाले भने, ‘मन्त्री यादवले अरुको योजना आफ्नो योजना भन्दै जनतामा भ्रम फैलाइरहेको छ ।’
म मन्त्री यादवलाई चुनौति दिन्छु, सांसद कुशवाहाले भने, ‘त्यसो हो भने उहाँ मेरो क्षेत्रमै आएर काम गरोस् ।’ त्यो उहाँको लागि सम्भव छैन । के उहाँ ब्रह्मा हो र ?
बुधबार सांसद कुशवाहाले मन्त्री लखेटिएको विषयलाई लिए प्रदेशसभा नै हल्लाए । उनले भने, ‘मेरो योजना पनि मन्त्री यादवले खरिदबिक्री गर्ने काम गरेको छ ।’ म दोस्रो पटक सांसद भएको छु, पहिलो कार्यकालमा अधुरो रहेका कामहरु पूरा गर्नु मेरो दायित्त्व हो । तर, मन्त्री यादव त्यसको बाधक बनेको छ ।
तर, मन्त्री यादवका कारण प्रदेशका योजनाहरु खरिदबिक्री भइरहेको छ । मन्त्री यादवले आफ्नो कार्यशैली नसुधारे मधेस मरुभूमि बन्नेछ ।
यस्तो थियो घटनाः
बुधबार महोत्तरीको ‘टिकुलिया–सहसौला’ सडक स्तरोन्नति योजनाको शिल्यानाश गर्न पुगेका मन्त्री यादवलाई टिकुलिया चोकबाट माओवादी कार्यकर्ता लखेटेका छन् ।
माओवादीको कोटामा रहेको योजनाको शिल्यानाश गर्न मन्त्री यादव पुग्दा माओवादी समर्थकहरुले अवरोध गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । तर, मन्त्री यादवले वडाबाट समिति नबनाई सिधै पालिकाबाट उपभोक्ता समिति गठन गराएर योजना सञ्चालन गर्ने तयारीमा थिए । जसको विरोधस्वरुव असन्तुष्ट पक्ष (माओवादी) द्वारा मन्त्री यादव लखेटिन पुगे ।
सो योजनाका मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । माओवादी संसदीय दलका नेता एवं पूर्वमन्त्री भरत साहले आफ्नो योजना मन्त्री यादवले शिल्यानाश गर्न खोजेको आरोप लगाए ।
नेता साहले आफू मन्त्री रहेकै बेला सो योजना पारित भएको बताए । यो योजना सञ्चालनको जिम्मेवारी आफूहरुले नै पाउनु पर्ने उनले दावी गरे ।
यद्यपि, योजनाको शिलान्यासपछि मन्त्री यादव प्रहरीको सुरक्षा घेराबीच फर्किएका छन् । अवस्था जटिल हुन नदिन शिलान्यास स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरी सुरक्षा सतर्कता बढाइएको थियो ।
त्यसक्रममा असन्तुष्ट पक्ष र सुरक्षाकर्मीबीच सामान्य झडप समेत भएको बताइएको छ ।
+ There are no comments
Add yours