काठमाण्डौ । जनमत पार्टी मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
बुधबार जसपा नेपालको केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित एक कार्यक्रममा जसपा नेपालका राष्ट्रि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।
पार्टी प्रवेशपछि बोल्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताएका छन्। “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने।
जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा पार्टीलाई सकारात्मक ऊर्जा मिल्नेछ।
कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

+ There are no comments
Add yours