राजविराज, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौ कार्यकर्ता शनिबार रास्वप्रा परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालिन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनी केही दिनअघि रास्वपामा प्रवेश गरी स्थानीय स्तरमा सक्रिय भूमिका निर्वाह गर्दै थिए ।
सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंगसहित कार्यकर्ता तथा समर्थकहरु पार्टीमा प्रवेश गरेसँगै त्यस क्षेत्रमा जसपा नेपाल झन् बलियो भएको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
मधेश र मधेशी जनताको हक अधिकारका लागि जनता समाजवादी पार्टी नेपाल लड्दै आएको तथा मधेशी जनताको भविष्य पनि यसमै रहेकोले आफु जसपा नेपालमा प्रवेश गरेको खंगले बताए । सप्तरी जिल्ला विकासको दृष्टिकोणले अझैं पछाडि रहेकोले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर आमजनताले सहयोग गर्न समेत उनले आग्रह गरे ।

+ There are no comments
Add yours