जसपा नेताहरूको बाढी प्रभावित नुवाकोटमा स्थलगत अवलोकन

Spread the love

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरूको टोलीले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

जसपा नेपालका महासचिवद्वय पूर्वमाननीय प्रकाश अधिकारी र डा. सुरेन्द्र झा, सचिव तथा मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्र साह, केन्द्रीय कार्यकारिणी समिति सदस्य वीरेन्द्र प्रधान तथा केन्द्रीय सदस्यहरू रमेश बाबु श्रेष्ठ, रामकृष्ण ढकाल र भुवनेश्वर चौधरीलगायतको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

अवलोकनका क्रममा बाढी तथा पहिरो प्रभावित नागरिकले उद्धार तथा राहतमा भइरहेको ढिलासुस्ती, पुनर्निर्माणका जटिलता तथा राज्यका विभिन्न निकायबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरेका थिए।

टोलीले जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीसँग भेट गरी प्रभावित क्षेत्रको अवस्था, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा विस्तृत छलफल गरेको थियो। भेटका क्रममा केन्द्र तथा प्रदेश सरकारबाट भइरहेको ढिलासुस्ती र पुनर्निर्माणका क्रममा ऐन–कानुनबीच देखिएको बाझिएको अवस्थाले सिर्जना गरेका समस्याबारे समेत छलफल भएको जनाइएको छ।

त्यसैगरी, बाढी–पहिरोमा आमा–बुबा दुवै गुमाएका बालबालिकाको संरक्षण, शिक्षा तथा भविष्य सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। यस्ता बालबालिकाको संरक्षण तथा भविष्य सुनिश्चित गर्नु राज्यको विशेष जिम्मेवारी हुनुपर्नेमा नेताहरूले जोड दिएका छन्।

स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वयमा सहयोग पुर्‍याउने सबैप्रति टोलीले धन्यवाद व्यक्त गरेको थियो।

स्थलगत अवलोकनका क्रममा देखिएका समस्या तथा प्रभावित नागरिकका गुनासालाई जसपा नेपालले आगामी सर्वदलीय बैठकमा गम्भीरतापूर्वक उठाउने नेताहरूले बताएका छन्। प्रभावित क्षेत्रका समस्या शीघ्र समाधान गर्न सम्बन्धित सरकार तथा निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन्।

टोलीमा सहभागी जसपा नेपालका केन्द्रीय सदस्य तथा नुवाकोटवासी रामकृष्ण ढकालले बाढी–पहिरोपछि उद्धार, राहत र पुनर्स्थापनाका विषयमा आफूले सुरुदेखि नै पार्टीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए।

“म नुवाकोटकै नागरिक भएकाले यहाँका नागरिकले भोगिरहेको पीडा मेरो आफ्नै पीडा हो,” ढकालले भने, “आज पार्टीका जिम्मेवार नेताहरूको टोलीसँगै प्रभावित क्षेत्रमा पुगेर नागरिकका पीडा, गुनासा र समस्याहरू प्रत्यक्ष रूपमा सुन्ने अवसर मिल्यो।”

ढकालले प्रभावित नागरिकका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन पार्टीले निरन्तर पहल गर्ने बताए।

यस बैठक समन्वयको भुमिका निर्वाह गर्नुहुने शर्मिला उप्रेती ज्युलाई टोलीले विशेष धन्यवाद दिएको छ ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours