महोत्तरी । जनता समाजवादी पार्टी नेपाल आबद्ध समाजवादी दलित मुक्ति संगठन महोत्तरी जिल्ला कार्य समितिको बैठकले आगामी स्थानीय निर्वाचनमा दलित समुदायको अनिवार्य उम्मेदवारी सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
पिपरा गाउँपालिका–स्थित पिपरा चोकको डोटिम होटल (मिथिला पार्टी प्यालेस) को बैठक हलमा जिल्ला अध्यक्ष संजित कुमार पासवानको अध्यक्षतामा बसेको बैठकमा उत्पीडनमा पारिएका दलित तथा सीमान्तकृत समुदायको हक–अधिकार सुनिश्चितता र राजनितिक प्रतिनिधित्वका विषयमा महत्वपूर्ण छलफल भयो ।
बैठकमा दलित समुदायको राजनीतिक सहभागिता, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, महिला तथा युवा नेतृत्व विकास, सामाजिक सम्मान, जातीय विभेदको अन्त्य, गुणस्तरीय शिक्षा र आर्थिक स्रोतमा पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा गहन विचार–विमर्श गरिएको थियो।
बैठकले दलित समुदायलाई भोट बैंकका रूपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, राजनीतिक आश्वासन र भाषणमा मात्र सीमित नभई आन्तरिक एकता कायम गर्ने, अन्तरदलित छुवाछूत तथा भेदभाव हटाउने र संविधानप्रदत्त दलित अधिकार प्राप्तिका लागि संगठित भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
दलित समुदायसँगै हक–अधिकारबाट वञ्चित पिछडा वर्ग, थारू, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायसँग समेत सहकार्य र एकता कायम गर्नुपर्ने विषयमा बैठकमा सकारात्मक छलफलभई सहमति भएको छ ।
बैठकमा डोटिम परिसंघका केन्द्रीय संयोजक तथा समाजवादी दलित मुक्ति संगठनका चन्देश्वर पासवान, चन्देश्वर सदा, शोभित पासवान, विनोद पासवान,
पिपरा गाउँपालीकाका निर्वाचित वडा अध्यक्षहरू विदेही पासवान र राजेश दासलगायत दलित अगुवा, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, डोटिम परिसंघका सल्लाहकार डा. पीके ठाकुर र डोटिम संचार संयोजक अभरेन्द्र कुमार यादवको विशेष उपस्थिति रहेको थियो।

+ There are no comments
Add yours