सिरहा, जनता समाजवादी पार्टी जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्लाले जिल्लाभित्रका १७ वटै पालिकाका निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्देशनअनुसार आयोजित उक्त कार्यक्रम सिरहा जिल्लाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षा हलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश, पालिका तथा जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, जनप्रतिनिधिहरूको भूमिका तथा आगामी निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रका अनुभव, चुनौती तथा जनअपेक्षाबारे धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा केन्द्रीय समन्वय समिति सदस्य अशेश्वर यादवले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी विशिष्ट वक्ताहरु केन्द्रीय समन्वय समिति सदस्य चन्देश्वर पासमान, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य संजिला यादव लगायतका नेताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र जनआधारित राजनीतिक अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आगामी दिनमा पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
जसपा नेपाल सिरहाले यस्ता कार्यक्रममार्फत पार्टी र जनप्रतिनिधिबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

+ There are no comments
Add yours