काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० को काठमाडौंमा लगातार तीन दिनसम्म चलेको समन्वय समिति बैठक सम्पन्न भएको छ। बैठकले प्रतिनिधि सभा निर्वाचन २०८२ को विस्तृत समीक्षा गर्दै आगामी राजनीतिक रणनीति, नीतिगत कार्यदिशा तथा पार्टी सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
जसपा नेपाल समन्वय समिति सदस्य चन्देश्वर पासमान ले जानकारी दिँदै बैठकमा निर्वाचन परिणाम, संगठन विस्तार, जनआधार मजबुत बनाउने योजना तथा मधेश केन्द्रित राजनीतिक एजेण्डालाई थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको बताए।
उनका अनुसार जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच पार्टी एकताका सम्पूर्ण चरण पूरा भइसकेपछि अब अर्को चरणमा थप राजनीतिक ध्रुवीकरणको तयारी अगाडि बढाइएको छ। त्यसअन्तर्गत जनमत पार्टी लगायत अन्य राजनीतिक शक्तिहरूसँग एकताको सम्भावनाबारे संवाद तीव्र पारिने निर्णय गरिएको उनले बताए।
त्यसैगरी प्रभु साह नेतृत्वको राजनीतिक समूह तथा कुलमान घिसिङ नेतृत्वसँग सम्बन्धित राजनीतिक शक्तिसँग समेत सहकार्य र एकताको विषयमा छलफल अघि बढिरहेको बैठकमा जानकारी गराइएको थियो।
उक्त राजनीतिक एकता तथा समन्वय प्रक्रियालाई प्रभावकारी बनाउन जसपा नेपालले समन्वय समिति सदस्य रकम चेम्जोङ को नेतृत्वमा विशेष समिति गठन गरेको छ। समितिले विभिन्न दल तथा समूहसँग संवाद, सहकार्य र सम्भावित एकताका विषयमा आवश्यक पहल गर्ने जिम्मेवारी पाएको बताइएको छ।
बैठकले आगामी दिनमा संगठन विस्तार, युवालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम, जनजीविकासँग जोडिएका मुद्दामा संघर्ष तथा राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित अगाडि बढ्ने निष्कर्ष निकालेको जसपा नेपालले जनाएको छ।

+ There are no comments
Add yours