विचार
प्रधानमन्त्री बालेन्द्र साहलाई युवा नेतृत्वको सुझाव: लोकतान्त्रिक नेतृत्व, संवाद र आत्मसमीक्षामा जोड
काठमाडौं ।
समाजवादी युवा संघ, नेपालका अध्यक्ष मनिषले प्रधानमन्त्री बालेन्द्र (बालेन) साहलाई खुला सुझाव दिँदै लोकतान्त्रिक नेतृत्व, जनतासँग निरन्तर संवाद र आत्मसमीक्षाको संस्कृतिलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
उनले प्रधानमन्त्रीसँग देशलाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउने ऐतिहासिक अवसर अझै पनि रहेको उल्लेख गर्दै जनताले तानाशाही शैलीको होइन, लोकतान्त्रिक र उत्तरदायी नेतृत्वको अपेक्षा गरेको बताएका छन्। नेतृत्वमा गल्ती हुन सक्ने भए पनि त्यसलाई स्वीकार गर्दै सुधार गर्नु नै परिपक्व नेतृत्वको परिचय हुने उनको भनाइ छ।
मनिषले युवा पुस्ताले वर्तमान सरकारसँग ठूलो आशा राखेको उल्लेख गर्दै राष्ट्रिय राजनीति, सुशासन र लोकतान्त्रिक अभ्यासमा जनविश्वास कायम राख्न प्रधानमन्त्रीले जनतामाझ पुगेर संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले संसदमा रहेका नयाँ राजनीतिक शक्तिका प्रतिनिधिहरूप्रति जनताको अपेक्षा उच्च रहेकाले उनीहरूको भूमिकाले पनि परिवर्तनको विश्वास जोगाउनुपर्ने बताएका छन्।
उनका अनुसार सरकारको मुख्य ध्यान आर्थिक विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुशासनमा केन्द्रित हुनुपर्छ। विगतका भ्रष्टाचारका घटनाको निष्पक्ष अनुसन्धानसँगै सुधारमुखी शासन प्रणाली निर्माण गर्दै भ्रष्टाचार नियन्त्रणलाई संस्थागत बनाउनुपर्ने उनको धारणा छ।
विचारमा कानुनी राज्य निर्माणका लागि नागरिकले सहज रूपमा आत्मसात् गर्न सक्ने कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ। साथै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै आलोचनालाई सुधारको अवसरका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।
मनिषले परिवर्तनको अभियानमा रहेका युवालाई पनि आत्मसमीक्षा गर्न आग्रह गर्दै अन्धसमर्थनभन्दा विवेकपूर्ण समर्थन र रचनात्मक आलोचनाको संस्कार विकास गर्नुपर्ने बताएका छन्। नयाँ राजनीतिक नेतृत्वले आलोचना सुन्ने, आत्ममूल्याङ्कन गर्ने र निरन्तर सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
अन्त्यमा उनले आफ्नो सुझाव प्रधानमन्त्री, सम्बन्धित निकाय तथा सम्पूर्ण युवासम्म पुग्ने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक सहकार्यबाट मात्रै देशको दिगो विकास सम्भव हुने उल्लेख गरेका छन्।

+ There are no comments
Add yours