काठमाडौं, २१ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्तर्गतको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा विभाग प्रमुख तथा केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
भूमि सम्बन्धी अध्यादेशको प्रभाव र सम्भावित असरहरू, विभागमा नयाँ सदस्यहरूको समावेशीकरण, वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी पार्टी नीति निर्माण लगायत विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो ।
बैठकमा सहभागी नेताहरूले नेपालको बढ्दो पर्यावरणीय संकट र विपद् व्यवस्थापन प्रणालीलाई सुधार गर्न ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका छन् । साथै, वन संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा पार्टीको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरिएको छ ।
बैठकमा विभागलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय समेत पारित गरिएको छ । दीर्घकालीन रूपमा वन, वातावरण तथा विपद् व्यवस्थापनलाई व्यवस्थित गर्न व्यापक योजना निर्माण गर्नु अपरिहार्य रहेको समेत बैठकले औंल्याएको छ ।
बैठकमा प्रमुख नेताहरूका साथै सचिव हन्सा साह, विज्ञ माधव प्रसाद देव, चन्देश्वर सदा, कोषाध्यक्ष सुरिता साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, प्रदीप घाताली लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकको समापनसँगै सहभागी सबै नेताहरूले वन, वातावरण तथा विपद् व्यवस्थापनका मुद्दामा पार्टीको स्पष्ट नीति निर्माण गर्दै प्रभावकारी कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
+ There are no comments
Add yours