मिर्चैया, पिके कर्ण । विद्यालय तहका विद्यार्थीमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता, नवप्रवर्तन, सिर्जनशीलता तथा प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको मिर्चैयामा दुई दिने “विज्ञान तथा प्रविधि प्रदर्शनी–२०८३” आयोजना हुने भएको छ।
श्री मोहन माध्यमिक विद्यालय, रामनगर, मिर्चैयाको प्राङ्गणमा आगामी २०८३ भाद्र २५ र २६ गते प्रदर्शनी आयोजना गरिने विद्यालयका प्रधानाध्यापक अशोक कुमार यादवले जानकारी दिएका छन्। प्रदर्शनीमा सिरहा जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराइनेछ।
विद्यालयहरूबीच ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान गराउने उद्देश्यसमेत रहेको प्रदर्शनीमा प्रत्येक विद्यालयबाट बढीमा चार जना विद्यार्थी सहभागी हुन पाउनेछन्। सहभागीमध्ये कम्तीमा एक जना महिला छात्रा अनिवार्य गरिएको छ। त्यस्तै, प्रत्येक विद्यालयबाट एक जना विज्ञान तथा फोकल शिक्षकको सहभागिता रहने व्यवस्था गरिएको छ।
प्रदर्शनीमा सहभागी हुन इच्छुक विद्यालयहरूले २०८३ भाद्र १७ गतेसम्म विद्यालय समयमा सम्पर्क गरी नाम दर्ता गरिसक्नुपर्ने कार्यक्रम संयोजक शिक्षक धनीक लाल साहले जानकारी दिएका छन्।
प्रदर्शनीसम्बन्धी थप जानकारीका लागि श्री मोहन माध्यमिक विद्यालयको प्रशासनमा सम्पर्क गर्न सकिनेछ।
कार्यक्रम विज्ञान प्रदर्शनी प्रवर्द्धन कार्यक्रम अन्तर्गत आयोजना हुन लागेको हो।

+ There are no comments
Add yours