कलैया, असार २३, २०८३। मधेस आन्दोलनका अगुवा तथा युवा नेता सचितानन्द यादवको उपचारका क्रममा निधन भएको छ। बाराको कलैया उपमहानगरपालिका–२, अवधापुर निवासी यादव लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो। उपचारकै क्रममा हृदयघात भएपछि असार १९ गते शुक्रबार उहाँको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोज कुमार यादव मंगलबार शोकाकुल परिवारलाई भेट्न अवधापुरस्थित निवास पुग्नुभएको थियो। उहाँले मृतककी पत्नी मनतुरिया देवी तथा अन्य परिवारजनसँग भेट गर्दै समवेदना व्यक्त गर्नुभएको हो।
सो अवसरमा पूर्वमुख्यमन्त्री यादवले शोकमा परेका परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो। उहाँले भन्नुभयो, “मधेस आन्दोलनमा सचितानन्द यादवले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले मधेस आन्दोलन र पार्टीले एक समर्पित तथा जुझारु युवा नेता गुमाएको छ, जुन अपूरणीय क्षति हो।”
शोकको घडीमा परिवारलाई राहत पुग्ने उद्देश्यले पूर्वमुख्यमन्त्री यादवले आफ्नो व्यक्तिगत तर्फबाट मृतककी पत्नी मनतुरिया देवीलाई क्रियाखर्च तथा तत्कालीन सहयोगस्वरूप नगद रु. ५० हजार हस्तान्तरण गर्नुभयो।
भेटघाटका क्रममा जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवलगायत स्थानीय नेता, कार्यकर्ता तथा परिवारजनको उपस्थिति रहेको थियो। उपस्थित सबैले स्वर्गीय सचितानन्द यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मधेस आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए।
स्वर्गीय सचितानन्द यादव मधेस आन्दोलनका सक्रिय युवा नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले मधेस आन्दोलन तथा स्थानीय समाजमा शोकको वातावरण छाएको छ।

+ There are no comments
Add yours